पत्रकारिताको तालिम लिएर समाचार लेख्न सिक्दै काम गर्न थालेको झण्डै ३ बर्ष जाति भएको थियो । काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार संघ तत्कालीन अनिज सक्रिय छ भनेको सुने । सायद २०६० तिर राजधानी जाँदा खोज्दै अनामनगरमा रहेको अनिजको कार्यालयमा पुगियो । त्यहाँ अनिल फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङसँग भेट भयो । अनिल गठनको उदेश्य र संगठनको अवस्था बारे बताउनुभयो । संस्था २०५६ पुसमा गठन भएको र संगठनले लिएको उदेश्य, नेपाली पत्रकारिताको बारे छलफल भयो । फोनिजमा अहिले जस्तो सहज हिसावले पत्रकारहरु खुलेर सदस्य लिने र संस्थामा बस्ने अवस्था थिएन । सक्रियताको साथ पत्रकारिता गर्नेहरु जातीय भन्दिन्छन कि भन्ने लिन्थे । सदस्य बनौ, संगठनमा बसौं भन्दा धेरैले मानिहाल्थे केहीले संस्थाको उदेश्य लगायतका बारेमा धेरै बेर केरकार गर्थे । संस्थापक अध्यक्षसँगको त्यही भेटमा मोरङमा अनिजको संगठन बनाउने बिषयमा पनि छलफल भयो । सोही छलफलको आधारमा २०६१ सालको जेठमा मोरङमा सानो भेला गरियो । मोरङको पथरी बजारमा सात जना पत्रकारहरू भेला भएका थियौं ।त्यहीँ भेलाबाट हामी मोरङ अनिजको तदर्थ समिति गठन गर्यौं । अनिजको पोखरामा २०७० सालमा भएको पाँचौ महाधिवेशनले संस्थालाई फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) बनाउने निर्णय गर्यौं। यो पंक्तिहरु फोनिज मोरङ गठन गर्न मुख्य भूमिका खेल्नु भएका संस्थापक सचिव र पूर्ब अध्यक्ष अर्जुन जम्नेली राईको हो । जम्नेली १ नं. प्रदेश समितिका पूर्व अध्यक्ष, पूवं संघीय अनुशासन आयोगको प्रमुख र लुम्बिनीमा भएको आठौ महाधिवेशनबाट हाल संघीय उपाध्यक्ष हुनुहुन्छ । तात्कालीन अनिज र हाल फोनिजको पहिलो भेलामा नरेन्द्र राई, अर्जुन जम्मेली राई, संग्रामसिंह लिम्बू, शौखी बान्तावा, लोकसागर साम्बा, युवराज राजवंशी र सुक्रराज राई गरेर सात जना सहभागीता भएको देखिन्छ । मोरङमा आदिवासी जनजाति पत्रकार महासंघको स्थापना गरेर संगठनको उदेश्य पुरा गर्ने चाहनाको साथ गठन भएको थियो । यो केवल एक संगठन थिएन, सदियौंदेखि दबिएर बसेका आवाजहरूको बुलन्द गर्ने चाहाना थियो । पहिलो भेलामा उपस्थित भएका पत्रकारहरुको आँखामा सपना थियो, मुटुमा जोश । पेशासँगै कलमी शक्ति पनि ।
पहिलो तदर्थ समिति र सपनाहरू
नरेन्द्र राईको संयोजकत्वमा गठित पहिलो तदर्थ समितिले आधारशिला राख्यो । अर्जुन जम्नेली राई सचिव बने र संग्रामसिंह लिम्बूले कोषाध्यक्षको जिम्मेवारी सम्हाले । शौखिन बान्तवना राई, युवराज राजवंशी, मधु राई, भक्तसेर लिम्बु र लोकसागर साम्बाले सदस्यको रूपमा योगदान दिए ।
यो समिति मात्र नाम भर्ने खालको थिएन । हरेक सदस्यले आ–आफ्ना क्षेत्रमा फिर्ता गएर आदिवासी जनजातिका पत्रकारहरूलाई एकताबद्ध गर्ने काम गरे । कहीं रेडियोमा भएका कार्यक्रमहरूमा, कहीं स्थानीय पत्रिकामा लेख्दै, कहीं सामुदायिक सभाहरूमा बोलेर ।
पहिलो अधिवेशन र नयाँ उर्जा
२०६२ सालको वैशाख महिना । पहिलो औपचारिक अधिवेशनको घडी आयो । अर्जुन जम्मेली राई अध्यक्ष बने । उनीसँगै लोकसागर साम्बा उपाध्यक्ष, शौखिन बान्तावा सचिव र मदन मादेम्बा कोषाध्यक्ष बने । ‘अब हामी केवल सपना मात्र देख्दैनौं, सपनालाई साकार पार्छौं,’ अतित सम्झैदै अर्जुन जम्नेली राईले भने ।
नयाँ कार्यसमितिमा भक्तशेर लिम्बू, सागर सुब्बा, युवराज राजवंशी, शन्तोष सुब्बा, राम घिसिङ, भक्त राई र पशुपति राई सदस्यहरू थिए । यो टोलीले मोरङभरका आदिवासी जनजातिका पत्रकारहरूलाई एक छाताले मुनि ल्याउने काम गर्यो ।
दोस्रो र तेस्रो अधिवेशन – निरन्तरताको यात्रा
वर्षहरू बित्दै गए । दोस्रो अधिवेशनमा भक्तशेर लिम्बूले नेतृत्व सम्हाले । उनले संगठनलाई बलियो बनाउने प्रयास गरे । आदिवासी जनजातिका मुद्दाहरूलाई मुख्यधारामा ल्याउने, युवा पत्रकारहरूलाई तालिम दिने र सञ्चार माध्यममा उनीहरूको पहुँच बढाउने काम भयो ।
तेस्रो अधिवेशनमा उत्तम बान्तवा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो । हरेक नेतृत्व परिवर्तनसँगै संगठन सहज बन्दै गयो ।
चौथो अधिवेशन – महिलाको सशक्तिकरण
२०७४ सालमा दिनेश सुब्बा लिम्बूको अध्यक्षतामा चौथो अधिवेशन भयो । यो अधिवेशन विशेष थियो किनभने पहिलो पटक महिला सदस्यहरूको संख्या उल्लेखनीय रूपमा बढेको थियो । रामलावती उपाध्यक्ष, सचिव अनिल श्रेष्ठ, मुना तामाङ सहसचिव, सृजना लिम्बु, राजकुमारी तामाङ, रेखा गुरुङ र बविता राईले सदस्यको रूपमा जिम्मेवारी सम्हाले । ‘हाम्रो संगठनमा महिलाको सहभागिता बढ्नु हाम्रो सबल पक्ष हो,’ त्यसबेला अध्यक्ष दिनेश सुब्बा लिम्बूले भनेका थिए ।
पाँचौं अधिवेशन – निरन्तरता र विश्वास
२०७८ मंसिर २७ गते भएको पाँचौं अधिवेशनले दिनेश सुब्बा लिम्बूलाई पुनः अध्यक्ष बनायो । यो उनको काम र नेतृत्वमाथिको सदस्यहरूको विश्वासको प्रमाण थियो ।
अशोक गुरुङ उपाध्यक्ष, अनिल श्रेष्ठ सचिव, बविता साम्पाङ राई सहसचिव र राजकुमारी तामाङ कोषाध्यक्ष बनिन् । यस अवधिमा संगठनले डिजिटल पत्रकारिता,
सामुदायिक रेडियो र अनलाइन मिडियामा आदिवासी जनजातिको उपस्थिति बढाउने काम गर्यो ।
छैटौं अधिवेशन – नयाँ पुस्ताको नेतृत्व
२०८१ पुस २७ गते भएको छैटौं अधिवेशनले नयाँ इतिहास रच्यो । अनिल श्रेष्ठ अध्यक्ष बने । उनीसँगै विजय खम्बू उपाध्यक्ष, विद्यानन्द चौधरी सचिव, संगीता राई र राजेश राजवंशी सहसचिव, सुरन्जन लिम्बु कोषाध्यक्ष बने ।
रामकुमारी राईको संयोजकत्वमा लेखा समिति पनि गठन भयो जसमा राजकुमारी तामाङ र युवराज लिम्बू सदस्य छन् ।
आजको फोनिज मोरङ
आज फोनिज मोरङ केवल एक संगठन मात्र होइन । यो आदिवासी जनजातिका अधिकार, संस्कृति र पहिचानको वकालत गर्ने एक शक्तिशाली मञ्च बन्दैछ । यसले सयौं पत्रकारहरूलाई तालिम दिएको छ, उनीहरूको क्षमता बढाएको छ र मुख्यधारामा उनीहरूको पहुँच बढाउने क्रममा छ ।
२०६१ मा सात जनाले देखेको सपना आज हजारौंको आवाज बनेको छ । कलम, तरवार भन्दा बलियो हुनेनै भयो । एकताबद्ध आवाजले असंभवलाई संभव बनाउने निश्चित छ ।
हाम्रो नवीनतम समाचार, गतिविधिहरू, कार्यक्रमहरूको जानकारी, सूचना तथा सूचनाहरू तुरुन्तै प्राप्त गर्न हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्।
फेसबुक पेजमा हामी विभिन्न सामाजिक अभियान, विद्यार्थीहरूका गतिविधिहरू, घोषणाहरू तथा महत्त्वपूर्ण सूचना नियमित रूपमा प्रकाशित गर्छौं। तपाईं पनि सहभागी भएर हाम्रो समुदायलाई अझ बलियो बनाउन सक्नुहुन्छ।
पेजमा जानुहोस्